भोजपुरः आजदेखि नवौं भोजपुर गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा नेपालका आठ समूह सहभागी हुने भएका छन् ।
आयोजक जिल्ला फुटबल संघका अध्यक्ष प्रवीण सुवालका अनुसार भोजपुर नगरपालिका–७ स्थित रंगशालामा सञ्चालन हुने प्रतियोगिताका लागि भोजपुर नगरपालिकाले ३० लाख रुपैयाँको प्रायोजन गरेको छ ।
१२ वैशाखसम्म सञ्चालन हुने प्रतियोगिताअन्तर्गतको आजको उद्घाटन खेलमा सशस्त्र प्रहरी बल (एपीएफ) नेपाल र एलएक्स सिटी मोरङबीच प्रतिस्पर्धा हुने भएको छ ।
भोलि ७ वैशाखमा आयोजक भोजपुर जिल्ला फुटबल संघ र संखुवासभा–११, बैशाख ८ गते सातदोबाटो युथ क्लब ललितपुर र केपिलासगढी गाउँपालिका खोटाङ तथा बैशाख ९ गते प्लानिङ ब्वाइज युनाइटेड काठमाडौँ र द गोर्खाज फुटबल क्लब, उदयपुरबीच पहिलो चरणका खेल हुनेछन् ।
प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधिसहित क्रमशः ५ लाख र ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् । अन्य व्यक्तिगत विधातर्फ सर्वोकृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकलाई पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
त्यस्तै, भोजपुरमा नै बैशाख १७ देखि २० गतेसम्म आठौँ महिला फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।



