विराटचोकः आज नेपाली शेयर बजार मापक नेप्से परिसूचक १३.४६ अङ्कले घटेर २८३७.७७ अङ्कमा अडिएको छ । नेप्सेमा सूचीकृत ३३५ कम्पनीको २ करोड १० लाख ८७ हजार ६२८ कित्ता शेयर ९७ हजार ४८० पटक किनबेच हुँदा ८ अर्ब ९९ करोड ३२ लाख ८० हजार ९६७ रुपैयाँको शेयर किनबेच भएको छ ।
जलविद्युत समूह र उत्पादन तथा प्रशोधन समूहबाहेक सबै समूहमा राताम्य भएको बजारमा जलविद्युत समूह ०.०८ प्रतिशत र उत्पादन तथा प्रशोधन समूह १.५९ प्रतिशत बढेको छ । अन्य समूह सर्वाधिक १.३९ प्रतिशतले घटेको छ ।
घटेको बजारमा ७ कम्पनीको शेयरमूल्य १० प्रतिशत बढेको छ । भुजुङ हाइड्रोपावर, सुपर खुदी हाइड्रो, होटल फरेस्ट इन, पाल्पा सिमेन्ट कम्पनी, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रोपावर र शिखर पावर डेभलपमेन्टको शेयरभाउ १० प्रतिशतले बढेको छ । शिखर पावर र पाल्पा सिमेण्टको शेयर आजदेखि नै दोस्रो बजारमा कारोबार हुन थालेको हो ।
एनआइसी एशिया ब्यालेन्स्ड फण्डको मूल्य सर्वाधिक ४.१७ प्रतिशतले घटेको छ ।
आज उच्च कारोबार गर्नेमा नेशनल हाइड्रोपावर कम्पनी परेको छ । सो कम्पनीको ५१ करोड ३२ लाख ९९ हजार ४५६ रुपैयाँको शेयर किनबेच भएको छ । उच्च कारोबार गर्ने अन्य कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, रिडी हाइड्रोपावर, सोलु हाइड्रोपावर र आँखुखोला जलविद्युत कम्पनी रहेका छन् ।
बजार घटेसँगै समग्र बजार पूँजीकरण ४८ खर्ब २४ अर्ब ५३ करोड २१ लाख ७६ हजार ३७२ रुपैयाँ कायम भएको छ ।



