विराटचोकः सुन्दरहरैंचा नगरपालिका अन्तर्गतको विपद व्यवस्थापन समितिको महत्वपूर्ण बैठक सम्पन्न भएको छ । बैठकले आगामी मनसुनलाई लक्षित गर्दै पूर्वतयारीका लागि आवश्यक सामग्री व्यवस्थापन तथा खरिद गर्ने निर्णय गरेको बताइएको छ ।
सो बैठकमा नगरस्तरमा विपद जोखिम न्यूनीकरणलाई प्रभावकारी बनाउने उद्देश्यले नगर विपद जोखिम न्यूनीकरण रणनीतिक योजना लोकार्पण गरिएको छ । सो योजनाअनुसार कार्यान्वयन हुने गरी विस्तृत कार्ययोजना समेत निर्माण गरिएको जानकारी दिइएको छ ।
सुन्दरहरैंचा नगरपालिका अब विपद व्यवस्थापन सम्बन्धी कानुनी रुपमा समेत सुदृढ बनेको उल्लेख गरिएको छ । समितिले अबको प्राथमिकता समुदाय स्तरमै विपद न्यूनीकरणका गतिविधि विस्तार गर्ने रहेको स्पष्ट पारेको छ ।
पछिल्लो समय सुन्दरहरैंचाका कुखुरामा देखिएको बर्डफ्लु रोग नियन्त्रण तथा रोकथामका विषयमा पनि बैठकमा छलफल भएको छ । यो रोग अत्यन्तै आक्रामक रहेको भन्दै सबैलाई सचेत रहन र आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ ।
बैठकले बर्डफ्लु नियन्त्रणका लागि आवश्यक कदम चाल्ने तथा सम्बन्धित निकायहरूसँग समन्वय गरी प्रभावकारी रूपमा नियन्त्रण अभियान अघि बढाउने निर्णय समेत गरेको जनाइएको छ ।



