विराटचोकः जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको हुनाले आज बागमती, गण्डकी, कर्णाली, सुदूर पश्चिम र लुम्बिनी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहेको छ । बाँकी तराई भू–भागमा आंशिक बदली भएको छ ।
गण्डकी प्रदेशका केही तथा कोशी, बागमती, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपात भइरहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो देशका हिमाली भागमा साधारणतया बदली रहनेछ भने पहाडी तथा तराई भू–भागमा आंशिक बदली हुनेछ । कोशी प्रदेशका पहाडी तथा हिमाली भागका केही तथा बागमती, गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका हिमाली भेगका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भागमा साधारणतया बदली रहने छ भने बाँकी हिमाली भू–भागमा आंशिक बदली हुनेछ । पहाडी तथा तराई भू–भागमा मुख्यतया मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै, कोशी प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका केही तथा सुदूर पश्चिम प्रदेशको हिमाली भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेका महाशाखाले जनाएको छ ।



