विराटचोकः यही चैत २१ गतेदेखि मोरङको सुन्दरहरैँचा १२ मा रहेको विराट भेट्रान क्लबको आयोजनामा पाँचौँ अन्तर्राष्ट्रिय भेट्रान गोल्डकप सञ्चालन हुने भएको छ । चैत २८ गतेसम्म सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना खेलमैदानमा खेल सञ्चालन हुने आयोजकले जनाएको छ ।
आयोजक क्लबका अध्यक्ष राजन योञ्जनका अनुसार यस संस्करणको प्रतियोगितामा आयोजक विराट भेट्रान क्लब (सुन्दरहरैँचा) सहित काँकरभिट्टा भेट्रान (झापा), दुधे भेट्रान (झापा), हाम्रो धरान भेट्रान (सुनसरी), भरौल भेट्रान (सुनसरी), दार्जिलिङ भेट्रान (भारत), पथरी भेट्रान (मोरङ) र मिल्स भेट्रान (मोरङ) गरी ८ टोलीले उपाधिका लागि प्रतिष्पर्धा गर्नेछन् ।
प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार १११ रुपैयाँ तथा उपविजेताले ६६ हजार ६६६ रुपैयाँका साथमा शिल्ड पाउने आयोजकले जनाएको छ ।
अन्य विधागत पुरस्कारहरू समेत प्रदान गरिने आयोजक विराट भेट्रान क्लबका अध्यक्ष लैनबहादुर योञ्जनले जानकारी दिनुभयो । शनिबार प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सुन्दरहरैँचा नगरपालिकाका प्रवक्ता रोशनप्रसाद ढकाल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । सम्मेलनमा पूर्व अध्यक्ष दीपक भण्डारीलगायत क्लबका पदाधिकारीको उपस्थिति रहेको थियो । क्लबका सदस्य परशुराम खतिवडाले स्वागत मन्तव्य राख्नुभएको थियो ।
प्रतियोगिताको मुख्य प्रायोजक पूर्वाञ्चल ल्युब आयल प्रालि रहेको छ ।
प्रतियोगिताका खेलाडीको सलिको इन्स्योरेन्समार्फत् १ लाख रुपैयाँसम्मको दुर्घटना बीमा गरिएको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार यसअघिका संस्करणहरूमध्ये पहिलो संस्करणको उपाधि धरानले जितेको थियो । दोस्रो संस्करण आयोजकले, तेस्रो संस्करण झापाले र चौथो संस्करण आयोजकले जितेको थियो ।





