Monday, March 30, 2026
Homeराजनीति२०६२–६३ पछि को–को भए प्रधानमन्त्री, २० वर्षमा १८ जना प्रधानमन्त्री

२०६२–६३ पछि को–को भए प्रधानमन्त्री, २० वर्षमा १८ जना प्रधानमन्त्री

विराटचोकः प्रतिनिधिसभा सदस्य चयनका लागि फागुन २१ गते भएको निर्वाचनबाट झण्डै दुई तिहाइ सिटसहित सत्तामा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन १३ गते नयाँ सरकार गठन गरी शपथ ग्रहण भएको छ ।

२०६२\०६३ को जनआन्दोलनपछिको यो २० वर्षमा धेरै सरकार बने । सामान्यतः एउटा सरकार ५ वर्ष चल्नुपर्ने हो । तर बहुमतको सरकार बन्न नसक्दा र बन्दा पनि सत्ता सञ्चालन सजिलो गरी सञ्चालन गर्न नजान्दा बनेका सरकार ढल्ने गरेका छन् । हालको सरकार झण्डै दुई तिहाइ जनादेशसहितको भएकाले पूरा अवधि टिक्ने विश्वास गर्न सकिने ठाउँ छ ।

२० वर्षमा १८ सरकार

२०६३ बैशाखदेखि २०८२ चैतसम्मको २० वर्षको अवधिमा १८ ओटा सरकार बनेका छन् । २०६२–६३ को जनआन्दोलन सफल भएलगत्तै नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बनेका थिए ।

तत्कालीन माओवादी शान्ति प्रक्रियामा आएपछि २०६३ चैतमा कोइरालाकै नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो । यो जनआन्दोलनपछिको दोस्रो सरकार थियो ।

२०६४ चैत २८ गते भएको संविधानसभा निर्वाचनमा माओवादी सबैभन्दा ठूलो दल बनेपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेर २०६५ भदौमा तेस्रो सरकार बनेको थियो ।

तत्कालीन प्रधान सेनापति रुकमाङ्गद कटुवाललाई जबरजस्ती हटाउन खोजेपछि प्रचण्ड प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य भएका थिए ।

सरकार गठनको ९ महिनामै प्रचण्डले २०६६ वैशाखमा राजीनामा दिएपछि तत्कालीन एमाले वरिष्ठ नेता माधवकुमार नेपाल प्रधानमन्त्री बनेर चौथो सरकार बनेको थियो ।

नागरिक सर्वोच्चताको नारा दिएर नेपाल नेतृत्वको सरकारविरूद्ध माओवादीले सुरूदेखि नै आन्दोलन गरिरहेको थियो । जसका कारण १४ महिनापछि २०६७ असारमा नेपालले राजीनामा दिए । तर नयाँ सरकार भने माघमा मात्रै बन्यो ।

२०६७ माघमा तत्कालीन एमाले अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री बने । २०६३ पछिको पाँचाँै सरकार पनि लगभग ९ महिना मात्रै सञ्चालन भयो ।

छैटौँ सरकार प्रमुखको रूपमा २०६८ असोजमा तत्कालीन माओवादीका उपाध्यक्ष बाबुराम भट्टराई प्रधानमन्त्री बने । भट्टराईकै कार्यकालमा २०६९ जेठ १४ गते संविधानसभाको विघटन भयो ।

सातौँ सरकारको रुपमा २०६९ चैतमा तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो ।

रेग्मी सरकारको नेतृत्वमा २०७० मंसिरमा दोस्रो पटक संविधानसभाको निर्वाचन भएपछि तत्कालीन कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा आठौँ सरकार गठन भएको थियो ।

कोइरालाको नेतृत्वमा २०७२ असोज ३ गते संविधान जारी भएपछि असोज २५ गते एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नवौँ सरकार गठन भएको थियो ।

२०७२ असोजमा प्रधानमन्त्री बनेका केपी शर्मा ओलीलाई विस्थापित गरेर २०७३ साउनमा प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री बनेर दशौँ सरकार गठन भएको थियो ।

२०७२ असोज यता हालसम्म प्रधानमन्त्रीको कुर्सीमा पालैपालो एमालेका नेता केपी शर्मा ओली, कांग्रेस नेता शेरबहादुर देउवा र माओवादी नेता प्रचण्ड प्रधानमन्त्री बनेका थिए ।

२०७३ साउनमा कांग्रेस सहितका दलको समर्थनमा प्रचण्ड दोस्रो पटक प्रधामन्त्री बन्दै गर्दा ९ महिनापछि देउवालाई सत्ता बुझाउने सहमति भएको थियो ।

प्रचण्ड र देउवाले आलोपालो गरेका कारण २०७४ जेठमा देउवाले सरकारको नेतृत्व एघारौँ सरकार बनेको थियो । २०६२–६३ अघि नै ३ पटक प्रधानमन्त्री बनेका देउवाको लागि यो चौथो अवसर थियो ।

२०७४ मंसीरमा भएको संसदीय निर्वाचनमा एमाले र माओवादी गठबन्धन गरेर आफ्नो पक्षमा नतिजा ल्याएपछि फागुनमा एमाले अध्यक्ष केपी शर्मा ओली दोस्रो पटक प्रधानमन्त्री हुँदै बारौँ सरकार बनेको थियो ।

एमाले र माओवादी एकता भएर नेकपा गठन अनि यसको विघटन, संसद विघटन अनि पुनस्र्थापना लगायतका घटनाक्रमले गर्दा २०७८ वैशाख ३० गते ओली सरकार ढल्यो ।

सोही दिन ओली अल्पमतको सरकारको प्रधानमन्त्री बनेका थिए । यो उनको तेस्रो कार्यकाल थियो । र तेह्रौँ सरकार गठन भएको थियो ।

ओली नेतृत्वको सरकारलाई सर्वोच्च अदालतले असंवैधानिक भनेपछि २०७८ असार २९ गते शेरबहादुर देउवा पाँचौं पटक प्रधानमन्त्री बन्दा चौधौँ सरकार गठन भएको थियो ।

देउवाकै नेतृत्वमा २०७९ मंसिरमा निर्वाचन भयो । २०७९ पुसमा एमालेको समर्थनमा प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बन्दा पन्ध्रौँ सरकार गठन भएको थियो ।

कांग्रेसको समर्थनमा २०८० साउनमा ओलीले चौथो पटक प्रधानमन्त्री बन्ने अवसर पाउँदा सोह्रौँ सरकार गठन भएको थियो । ओलीले १० वर्षमा चार पटक प्रधानमन्त्रीको शपथ लिएका थिए ।

२०८२ भदौ २३ र २४ को जेनजी विद्रोहपछि ओली सरकारको बहिर्गमनसँगै सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बन्दा सत्राँै सरकार गठन भयो ।

२०८२ चैत १३ गते रास्वपा नेता बालेन्द्र शाहको नेतृत्वमा अठारौँ सरकार बनेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments