विराटचोकः सोपान फर्मास्युटिकल्स लिमिटेडले आज चैत ९ गतेदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशतले हुन आउने ४२ करोड ९० लाख रुपैयाँ बराबरको ४२ लाख ९० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो । सोमध्ये १० प्रतिशतले हुन आउने ४ करोड २९ लाख रुपैयाँ बराबरको ४ लाख २९ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गर्न लागेको हो ।
कम्पनीले ५ प्रतिशत अर्थात् २ लाख १४ हजार ५०० कित्ता शेयर सामुहिक लगानी कोषका लागि र ४ प्रतिशत अर्थात् १ लाख ७१ हजार ६०० कित्ता शेयर कम्पनीका कर्मचारीहरूलाई छुट्याएको छ । बाँकी रहेको ३४ लाख ७४ हजार ९०० कित्ता शेयर कम्पनीले सर्वसाधारणका लागि निष्काशन गर्ने भएको छ ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ११ हजार कित्तासम्म आवेदन दिन सकिने बताइएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले चैत १२ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि चैत २३ गतेसम्म लम्बिनेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत् आवेदन दिन सक्नेछन् ।
कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि ८.११ वर्ष रहेको छ भने डिस्काउण्ट लगानी फिर्ता हुने अवधि ११.३५ वर्ष रहेको छ । कम्पनीको खुद वर्तमान मूल्य १५ अर्ब ९७ करोड ५९ लाख ३९ हजार २५७ रुपैयाँ रहेको छ भने आन्तरिक प्रतिफल दर २३.६३ प्रतिशत रहेको छ ।





