Sunday, March 15, 2026
Homeसमाचारइटहरीमा क्रियाशील सञ्चारकर्मीद्वारा दिगो विकास र सञ्चार क्षेत्र सुदृढीकरणका लागि सहकार्यमा जोड

इटहरीमा क्रियाशील सञ्चारकर्मीद्वारा दिगो विकास र सञ्चार क्षेत्र सुदृढीकरणका लागि सहकार्यमा जोड

इटहरीः इटहरीका सञ्चारकर्मीहरूले पत्रकारिताको वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे गम्भीर समीक्षा गर्दै सञ्चार क्षेत्रको विकासका लागि आपसी सहकार्य आवश्यक रहेको बताएका छन् ।

शुक्रबार इटहरीमा आयोजित एक भेलामा सहभागी सञ्चारकर्मीहरूले इटहरीको समग्र विकाससँगै सञ्चार क्षेत्रको विकास पनि जोडिएको बताउँदै समाचारमा इटहरीका विकासका मुद्दाहरूलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका हुन् ।

पत्रकार विवेक भट्टराईले इटहरीका मिडियाहरूको वर्तमान अवस्था, समस्या, सम्भावना र स्थानीय विकासमा निर्वाह गर्न सक्ने भूमिकाबारे अवधारणा प्रस्तुत गरेका थिए । उनले मिडियाले समयानुकूल आफूलाई परिष्कृत गर्दै स्थानीय मुद्दाहरूलाई प्राथमिकता दिएर अघि बढ्नुपर्ने बताएका थिए ।

अवधारणामाथि छलफल गर्ने क्रममा सहभागीहरूले पछिल्लो समय प्रविधि, बजार र पाठक तथा दर्शकको रुचिमा परिवर्तन आएकाले मिडियालाई पनि सोहीअनुसार परिष्कृत गर्न आवश्यक रहेकोमा जोड दिए ।

पत्रकार सुमन पुरीले पत्रकारितामा गेटकिपिङको अभ्यास कमजोर भएको र समाचारको तथ्य पुष्टि तथा क्रस–चेक गर्ने प्रक्रिया घट्दा पत्रकारितामाथि प्रश्न उठिरहेको बताए । नयाँ मिडियासँग दूरी बढेको उल्लेख गर्दै युट्युब लगायतका डिजिटल प्लेटफर्मलाई कसरी समेट्ने भन्ने विषयमा पनि सोच्नुपर्ने उनको धारणा थियो ।

पत्रकार मनोज दाहालले पत्रकारितामा सामाजिक सञ्जालका लाइक र भ्यूजको प्रतिस्पर्धा बढेको उल्लेख गर्दै परम्परागत मिडियालाई डिजिटल माध्यमसँग जोड्दै अघि बढ्नुपर्ने बताए ।

पत्रकार विनय बाह्रकोटीले इटहरीमा पत्रकारितामाथि विभिन्न किसिमका दबाब र आक्रमण बढेको उल्लेख गर्दै बजारको कमजोरी, विज्ञापन अभाव र दक्ष पत्रकारको पलायन जस्ता समस्या मुख्य चुनौतीका रूपमा रहेको बताए ।

पत्रकार सुविद गुरागाईंले स्थानीय तहमा सञ्चार नीति निर्माणका लागि सङ्गठित पहल गर्नुपर्ने धारणा राखे । उनले मिडियाबीच आपसी सहकार्य हुनुपर्नेमा जोड दिँदै नयाँ पत्रकार उत्पादनमा पनि ध्यान दिनुपर्ने बताए ।

पत्रकार बाबुराम खड्काले पत्रकारितामा निष्पक्षताको प्रश्न गम्भीर बनेको उल्लेख गर्दै उत्पादन गरिने सामग्री कति अर्गानिक र विश्वसनीय छ भन्नेमा ध्यान दिनुपर्ने बताए ।

पत्रकार सुरेशचन्द्र दाहालले मिडियाको महत्व स्थानीय तहलाई बुझाउन आवश्यक रहेको बताए । उनले पत्रकारितामा दक्ष जनशक्तिको अभाव रहेको र नयाँ पुस्तालाई तालिम तथा व्यावसायिक ज्ञान आवश्यक रहेको उल्लेख गरे ।

पत्रकार गणेश निरौलाले समस्या पर्दा पत्रकारहरूबीच विभाजन देखिने गरेको उल्लेख गर्दै विचार फरक भए पनि पेशाप्रति इमान्दार भएर एकताबद्ध हुनुपर्ने बताए ।

पत्रकार सुप्रिया राईले अहिले पत्रकारितामा सीपको मूल्याङ्कन बढ्दै गएको बताउँदै काम गर्नेहरूका लागि अवसरहरू बढ्दै गएको धारणा राखिन् । उनले संगठनको आवश्यकता र एकअर्काबीच सहयोगको महत्व पनि औँल्याइन् ।

पत्रकार तेज वनले पुराना पुस्ताका पत्रकारहरूको अनुभवलाई सम्मान गर्दै नयाँ पुस्तालाई अवसर दिनुपर्ने बताए । उनले इटहरीमा सक्षम पत्रकारहरूको ठूलो सम्भावना रहेको उल्लेख गरे ।

पत्रकार सञ्जीव तिम्सिनाले मिडियामा अहिले चुनौती देखिएको बताउँदै मिलेर अघि बढ्नुपर्ने धारणा राखे ।

पत्रकार बाबुराम कार्कीले पत्रकार महासंघले नेतृत्वदायी भूमिका खेल्नुपर्ने उल्लेख गर्दै पत्रकारहरूको स्वास्थ्य, सुरक्षा र संस्थागत संरचनालाई मजबुत बनाउन आवश्यक रहेकोमा जोड दिए ।

पत्रकार रञ्जना पौडेलले पत्रकारहरूबीच एकअर्कालाई सहयोग गर्ने संस्कृतिको कमी रहेको बताउँदै आर्थिक समस्याका कारण मिडिया हाउसहरूले कर्मचारी टिकाउन कठिन भएको धारणा राखिन् ।

पत्रकार ज्योति पोख्रेलले पछिल्लो समय पत्रकारहरूलाई सुरक्षाको चुनौती बढ्दै गएको बताउँदै रिपोर्टिङका क्रममा असुरक्षा महसुस गर्नुपरेको अनुभव सुनाइन् ।

पत्रकार विकल पौडेलले मिडिया सकियो भन्ने नकारात्मक भाष्य बढिरहेको भए पनि पत्रकारितामा अझै धेरै सम्भावना रहेको बताए ।

पत्रकार लीलाराज भट्टराईले इटहरीलाई कुनै विशेष क्षेत्रको राजधानीका रूपमा विकास गर्ने सम्भावना इटहरीका मिडियाले देखाउन सक्ने बताए । उनले मिडिया साक्षरता र राजनीतिक साक्षरता बढाउनुपर्ने आवश्यकता पनि औँल्याए ।

पत्रकार सचिन पोख्रेलले सञ्चारकर्मीहरूबीच नियमित सम्पर्क र समन्वयको वातावरण बनाउनुपर्ने बताए । उनले सञ्चारग्राम लगायत अवधारणामा गएर केही नयाँ काम गर्न सकिने धारणा राखे । उनले स्थानीय विकासका सवालहरूमा सबै मिडियाले एकसाथ काम गर्नुपर्ने बताए ।

पत्रकार चेतन धमलाले पत्रकारिताको विश्वसनीयता र प्रभावकारिता कमजोर हुँदा विज्ञापन बजार पनि प्रभावित भएको उल्लेख गर्दै गुणस्तरीय सामग्री उत्पादनले विश्वसनीयता बढाउने बताए ।
पत्रकार समीर दुलालले पछिल्लो समय पत्रकारमाथि भौतिक आक्रमणका घटना बढेको उल्लेख गर्दै रिपोर्टिङका क्रममा सुरक्षाको चुनौती गम्भीर बन्दै गएको बताए ।

पत्रकार हिमाल दाहालले इटहरीको दिगो विकासका लागि सञ्चार क्षेत्रको भूमिका अग्रणी हुने बताए । उनले इटहरीमा शुरु भएको ‘भोलिको इटहरीः भिजन २०५०’ अभियानको स्वरूपबारे चर्चा गरेका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments