विराटचोकः निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि निर्वाचन खर्च बैंक खातामार्फत् नगर्ने राजनीतिक दल तथा उम्मेद्वारहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
बैंक खाता नखोली वा खाता खोलेर पनि बैंकिङ कारोबार नगरी खर्च गर्ने दल वा उम्मेद्वारलाई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आधारमा प्रचलित व्यवस्थाअनुसार कारबाही गरिने आयोगले चेतावनी दिएको हो । आयोगका सूचना अधिकारी सुमन घिमिरेले आयोगले बैंक खातामार्फत् मात्र खर्च गर्न राजनीतिक दलहरूलाई निर्देशन दिएको जानकारी दिनुभयो । आयोगले तोकेको व्यवस्था उल्लङ्घन गरे निर्वाचन आचारसंहिताअनुसार कारबाही हुने उहाँको भनाइ छ ।
हालसम्म ९ वटा राजनीतिक दल र १ हजार ३ सय ८९ उम्मेद्वारले बैंक खाता सञ्चालनमा ल्याएको जनाइएको छ । खाता सञ्चालन गर्ने राजनीतिक दलहरूमा नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपा संयुक्त, नेपाली कम्युनिस्ष्ट पार्टी (नेकपा), नेपालका लागि नेपाली पार्टी, जनता समाजवादी पार्टी (जसपा), संयुक्त नागरिक पार्टी, मितेरी पार्टी र नेपाल जनता संरक्षण पार्टी रहेका छन् ।
नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका ठूला राजनीतिक दलहरूले समेत हालसम्म बैंक खाता सञ्चालनमा ल्याएका छैनन् । आयोगले बैंक खाता खोलेर बैंकिङ कारोबारमार्फत् मात्र निर्वाचन खर्च गर्न आग्रह गरेको छ ।







