काठमाडौंः प्रतिनिधिसभा निर्वाचनको दिन फागुन २१ गते आन्तरिक हवाई उडान सेवा बन्द हुने भएको छ । अन्तर्राष्ट्रिय उडान भने सामान्य रूपमा चल्ने भएका छन् ।
नेपाल पर्यटन बोर्डले पर्यटकका लागि ट्राभल एड्भाइजरी जारी गर्दै यसबारे जानकारी गराएको हो । बोर्डले निर्वाचनको समयमा पनि नेपाल पर्यटकका लागि खुला रहने र सुरक्षित रहने भन्दै त्यसका लागि सरोकारवाला निकायसँग समन्वय समेत गरिरहेको बताएको छ ।
बोर्डले निर्वाचनको दिन विमानस्थलदेखि होटल र होटलदेखि विमानस्थलसम्म सटल बस सेवा प्रदान गर्न इच्छुक कम्पनीका लागि जिल्ला प्रशासन कार्यालयबाट सवारी पासको व्यवस्था गर्न आवश्यक सिफारिशपत्र समेत दिन सम्पर्क व्यक्ति तोकेको छ ।
बोर्डले निर्वाचनको समयमा सीमानाका भने निर्वाचन हुनुभन्दा ७२ घण्टा पहिले बन्द हुने भन्दै सूचित समेत गरेको छ ।







