विराटचोकः हिजो भएको खेलमा नेपालले आईसीसी पुरुष टी– २० विश्वकपमा सान्त्वना जीत हासिल गरेको छ । नेपालले मंगलबार सम्पन्न समूह ‘सी’ अन्तर्गतको आफ्नो अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध ७ विकेटको जीत निकालेको हो ।
सन् २०१४ को विश्वकपमा विजयी भएको नेपालले विश्वकपमा १२ वर्षपछि जीत निकालेको हो । सन् २०१४ मा नेपालले हङकङ र अफगानिस्तलाई हराएको थियो । सन् २०२४ को विश्वकपमा भने नेपालले कुनै पनि खेल जितेको थिएन ।
मुम्बईस्थित वनखेडे रंगशालामा स्कटल्यान्डले प्रस्तुत गरेको १७१ रनको लक्ष्य नेपालले ४ बल बाँकी रहँदा ३ विकेट गुमाउँदै पूरा गर्दा दीपेन्द्रसिंह ऐरीले २३ बलमा ४ चौका र ३ छक्काको मद्दतले अविजित ५० रनको योगदान गरेका थिए ।
कुशल भुर्तेलले ४३, आसिफ शेखले ३३, गुल्सनकुमार झाले अविजित २४ र कप्तान रोहितकुमार पौडेलले १६ रन बनाएका थिए ।
स्कटल्यान्डका लागि तीनै विकेट माइकल लिस्कले लिएका थिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित २० ओभरमा विकेट गुमाउँदै ७ विकेट गुमाउँदै १७० रनको योगफल तयार पारेको थियो ।
जीतसँगै नेपालले ४ खेलमा २ अंक जोड्यो । नेपाल यसअघि इंग्ल्यान्ड, इटाली र वेस्ट इन्डिजसँग पराजित भएको थियो ।
स्कटल्यान्डको पनि ४ खेलबाट २ अंक नै रह्यो । यसअघि वेस्ट इन्डिज र इंग्ल्यान्डसँग हार व्यहोरेको स्कटल्यान्डले इटालीलाई भने पराजित गरेको थियो ।







