विराटनगरः मोरङ जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ का निवर्तमान सांसद डा. सुनिल शर्माले मोरङको रतुवामाई नगरपालिका–९ मा रहेको जनता माध्यमिक विद्यालयमा २ करोड रुपैयाँ लागतमा भवन बनाउने भएका छन् । साथै उनले १ करोड रुपैयाँको अक्षयकोष पनि स्थापना गरेका छन् ।
सो विद्यालयका पूर्वविद्यार्थी शर्माले संघीय शिक्षा नियमावली तथा स्थानीय शिक्षा नियमावली अनुसार २ करोड बराबरको जिन्सी तथा नगद विद्यालयको खातामा जम्मा गरेर विद्यालयको नाम परिवर्तन गरी आफ्ना आमाबुबाको नाम पनि थपेका छन् । अब सो विद्यालयको नाम परिवर्तन गरेर श्री जनता लोकनाथ होमादेवी मावि बनाइएको छ ।
५–५ कोठाको २ तले भवनको सोही विद्यालयका पूर्वविद्यार्थी समेत रहेका शर्माले २ करोड बराबरको लागतमा भवन निर्माण गरी विद्यालयलाई हस्तान्तरण गर्ने विद्यालयका प्रधानाध्यापक ईश्वर खनालले जानकारी दिनुभयो । १ वर्षभित्र भवन निर्माण पूरा गरी विद्यालयलाई हस्तान्तरण गरिने भएको छ ।
शर्माले विद्यालयका संस्थापक स्वर्गीय नरेन्द्रबहादुर थापाको नाममा ५० लाख र हजुरबुवा र हजुरआमाको नाममा २५–२५ लाख गरी १ करोड रुपैयाँ राशीको छात्रवृत्ति कोष स्थापना गर्ने घोषणा गर्नुभएको हो ।
शर्माले सो विद्यालयका विद्यार्थी र शिक्षकलाई विराटनगरको नोबेल अस्पतालमा उपचार गर्दा विशेष सहुलियत दिने पनि घोषणा गर्नुभएको छ ।








