विराटचोकः नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको म्याद थप गर्ने निर्णय शुक्रबार सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेको छ ।
कार्यसमितिको म्याद कांग्रेसले यसअघि दुई महिना थपेर माघ मसान्तसम्म बढाएको थियो । कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचन कार्यसमितिको कार्यकाल यही मंसिरमा सकिनुअघि माघसम्म म्याद थप भएको थियो ।
शुक्रबार भएको बैठकमा महाधिवेशन बैशाख २८–३१ गतेसम्म गर्ने प्रस्ताव कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरेसँगै सो प्रस्ताव पारित भएको थियो । बैठकमा सहभागी ५ जनाले भने ‘नोट अफ डिसेन्ट’ लेखेका थिए ।
कांग्रेसको नियमित महाधिवेशन तालिका यही पुस २६–२८ गते हुने निर्णय मंसिर १५ गतेको केन्द्रीय समितिको बैठकले गरेको थियो ।







