बेलबारीः स्रष्टा तिला लेकालीको गजल सङ्ग्रह ‘आगोको रङ’ सार्वजनिक भएको छ । प्रगतिशील लेखक संघको आयोजनामा काठमाडौंमा सो कृतिको विमोचन गरिएको हो । सो कृति लेकालीको सातौँ कृति हो ।
प्रगतिशील लेखक संघका सल्लाहकार एवम् पूर्व शिक्षामन्त्री रघुजी पन्त प्रमुख अतिथि रहेको कार्यक्रममा जगत उपाध्याय प्रेक्षित, प्रा.डा. जिवेन्द्रदेव गिरी, मातृका पोखरेल, प्रा.डा. देवी नेपाल, शान्ता मानवी, नर्वदेश्वरी सत्याल, डा. बमबहादुर थापा ‘जिताली’लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा लोकार्पित कृतिमाथि साहित्यकार हरि सिलवालले समीक्षा प्रस्तुत गर्नुभएको थियो । प्रलेस अध्यक्ष डा. देवी क्षेत्री दुलालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव झपिन्द्र ढकाल (पारस) ले गर्नुभएको थियो ।
२०५९ सालमा जनउन्मुख पत्रिकामा ‘मलाई मन पर्छ’ शीर्षकको कविता प्रकाशित गरेर नेपाली साहित्यमा औपचारिक रूपमा प्रवेश गरेकी लेकालीले कविताका अतिरिक्त गजल, हाइकु,, मुक्तक, गीत तथा बालसाहित्य विधामा कला चलाउँदै आउनुभएको छ ।
उहाँका पर्खालभित्र (हाइकु सङ्ग्रह –२०६५),चक्रव्यूहमा उभिएर (गजल सङ्ग्रह –२०७०), झ्याउँकिरी झङ्कृत (हाइकु सङ्ग्रह –२०७४), रानी मौरी (बाल गजल सङ्ग्रह –२०७६), साझा आकाश –कविता सङ्ग्रह –२०७८), खुर्पे जून (कवितासङ्ग्रह २०८०) प्रकाशित भएका छन् ।








