विराटनगरः आजदेखि मोरङ उद्योग व्यापार संघको आयोजनामा विराट ट्रेड एक्स्पो २०८२ विराटनगरमा सञ्चालन हुने भएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङको छेउस्थित शान्ति चौक नजिकको खुला मैदानमा आयोजना हुने एक्स्पो पुस १९ गतेसम्म सञ्चालन हुनेछ । एक्स्पोको उद्घाटन संघीय सरकारका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
मोरङ उद्योग व्यापार संघको ३४ औँ कार्यकारिणी समितिका अध्यक्ष अनुपम राठीको नेतृत्वमा एक्स्पो आयोजना हुन लागेको हो । संघका सचिव अमित सारडालाई विराट ट्रेड एक्स्पो संयोजक तथा कार्यकारिणी समिति सदस्य विनित सिंघानियाँलाई सह–संयोजकको जिम्मेवारी दिइएको छ।
एक्स्पोमा नेपाल, भारत, बंगलादेश र पाकिस्तानका २३० वटा स्टल रहनेछन् । एक्स्पो अवलोकनका लागि १५० रुपैयाँ टिकट दर तोकिएको छ । विराट ट्रेड एक्स्पो संयोजक अमित सारडाका अनुसार एक्स्पोमा करिब २ लाख दर्शक सहभागी हुने र २५ देखि ३० करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको छ ।







