विराटचोकः फिफा विश्वकप २०२६ अन्तिमतिर आइपुगेको छ । क्वाटरफाइनल अन्तर्गत अर्जेन्टिना र स्वीट्जरल्यान्डबीचको खेल सकिएसँगै सेमीफाइनल खेल्ने चारै टोलीको टुंगो लागेको हो ।
रोचक कुरा के रह्यो भने फिफा वरीयतामा माथि रहेका चार वटै टीम फ्रान्स, अर्जेन्टिना, स्पेन र इङ्ल्यान्डले सेमीफाइनलमा स्थान बनाएका छन् ।
वरीयतामा पहिलो स्थानमा रहेको फ्रान्सले मोरक्कोलाई २–० ले हराउँदै सेमीफाइनलमा स्थान बनाएको थियो । यस्तै, स्पेनले बेल्जियमलाई २–१ ले तथा इङ्ल्यान्डले नर्वेलाई २–१ गोलले नै पराजित गर्दै अन्तिम चारमा स्थान बनायो ।
क्वाटरफाइनलको अन्तिम खेलमा साविक विजेता अर्जेन्टिना स्वीट्जरल्यान्डमाथि ३–१ को जीतसहित सेमीफाइनलमा पुगेको हो ।
नर्वे र स्वीट्जरल्यान्ड सेमीफाइनलमा पराजित भएपछि विश्वकपमा नयाँ टिम विजेता नबन्ने पक्का भएको हो ।
अब पहिलो सेमीफाइनलमा फ्रान्स र स्पेनबीच असार ३१ गते अमेरिकाको डालास स्टेडियममा हुनेछ । खेल नेपाली समय अनुसार बिहान पौने १ बजे सुरु हुनेछ ।
यस्तै इंग्ल्यान्ड र अर्जेन्टिनाबीचको दोस्रो सेमीफाइनल असार ३२ गते बिहीबार अमेरिकाकै एटलान्ट स्टेडियममा हुनेछ । यो खेल पनि नेपाली समय अनुसार बिहान पौने १ बजे शुरु हुनेछ ।
सेमीफाइनलका विजेता टिमले साउन ४ गते अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा फाइनल खेल खेल्नेछन् ।





