इटहरीः खेलकुद क्षेत्रको विकास र प्रवद्र्धनमा पुर्याएको योगदानको कदर गर्दै विश्व आदर्श कलेजका प्राचार्य गणेश दुलाल सम्मानित हुनुभएको छ ।
बुधबार कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रदेश खेलकुद विकास बोर्डले विराटनगरमा अयोजना गरेको कार्यक्रममा दुलाललाई नगद १० हजारसहित सम्मानपत्र प्रदान गरिएको हो ।
सम्मानपत्रमा विगत लामो समयदेखि निजी क्षेत्रमा आबद्ध रही कोशी प्रदेशको खेलकुद क्षेत्रको विकास र प्रवद्र्धनमा उल्लेखनीय योगदान पुर्याएको भन्दै प्रदेश सरकारका तर्फबाट सम्मान गरिएको उल्लेख छ ।
कार्यक्रममा पत्रकारितामार्फत् खेलकुद क्षेत्रमा योगदान पुर्याएको भन्दै कान्तिपुर टेलिभिजनका सुनसरी संवाददाता अर्जुन सुवेदी पनि सम्मानित हुुनुभएको छ ।
कार्यक्रममा अन्तर्राष्ट्रिय प्रतियोगिताका पदक विजेता खेलाडी, प्रशिक्षक तथा खेलकर्मीलाई नगदसहित सम्मान गरिएको थियो ।
सोही कार्यक्रममा सन् २०२५ नोभेम्बर ११ देखि २३ तारिखसम्म भारत र श्रीलंकामा सम्पन्न महिला टि २० दृष्टिविहीन क्रिकेटमा नेपाललाई रजत पदक दिलाउन योगदान दिएका इलामकी प्रतिभा राई र सुनसरीकी सुनिता भुजेललाई जनही १ लाख रुपैयाँ नगदसहित सम्मान गरिएको थियो । टोलीका प्रशिक्षक उदयपुरका नरेन्द्र निरौलालाई २५ हजार रुपैयाँ प्रदान गरिएको बोर्डले जनाएको छ ।





