विराटचोकः हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भू–भागनजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको हुनाले काठमाडौंलगायत देशका विभिन्न स्थानमा हावाहुरीका साथमा वर्षा भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ र तराई भू–भागमा मुख्यतया मौसम सफा रहनेछ ।
कोशी र मधेस प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानहरूमा, लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका तराईका भू–भाग साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
सुदूर पश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तातो दिन हुने सम्भावना रहेको छ । मधेश प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई र पहाडी भू–भागका थोरै स्थानहरूमा अपराह्नपछि हुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।




