विराटचोकः कविशिरोमणि लेखनाथ पौड्यालको १४० औ जन्मजयन्तीका अवसरमा विराट साहित्य समाजको आयोजनामा भएको माविस्तरीय खुला कविता प्रतियोगितामा क्वेस्ट माविकी छात्रा दीपांशु न्यौपाने पहिलो भएकी छिन् ।
पौडेल वंश प्रतिष्ठान तथा पौडेल वंश एकता समाज इन्द्रपुरको प्रायोजनमा भएको प्रतियोगितामा सुकुना माविका विशाल तिम्सिना दोस्रो, सिद्वार्थ माविकी जिया क्षेत्री तेस्रो तथा शिक्षा निकेतन माविकी पूजा माझीले सान्त्वना स्थान हात पारे ।
प्रतियोगिताका विजेता कविहरूलाई क्रमश नगद ५ हजार, ४ हजार, ३ हजार र १ हजारका साथमा प्रमाणपत्रद्वारा प्रदान गरिएको थियो । सुन्दरहरैंचाका ८ वटा माध्यमिक विद्यालयबाट १६ जना विद्यार्थीले प्रतियोगितामा भाग लिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख केदारप्रसाद गुरागाईँले भाषा साहित्य र कलाको विकासका लागि नगरपालिकाले सहयोग गर्ने उल्लेख गर्दै नगरमा प्रज्ञा प्रतिष्ठान गठनको लागि विधेयक नै नगरसभाले पारित गरेको बताए । शिक्षासेवी तथा स्रष्टा प्रेमप्रसाद भट्टराई तथा टंक दाहाल प्रतियोगिताको निर्णायकको रुपमा रहेका थिए ।
कार्यक्रममा पौडेल वंश प्रतिष्ठानका केन्द्रीय महासचिव उद्वव पौडेल तथा प्रतिष्ठानका नगर अध्यक्ष राजेन्द्रकुमार पौडेल लगायतले बोलेका थिए । विराट साहित्य समाजका उपाध्यक्ष विदुर सुवेदीले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको सञ्चालन समाजका सहसचित दीपक न्यौपानेले गरेका थिए । समाजका अध्यक्ष उमानाथ भट्टराईकोे अध्यक्षतामा कार्यक्रम भएको थियो ।
पौडेल वंश प्रतिष्ठानले कविशिरोमणिको जन्मजयन्ती मनाउन हरेक वर्ष कार्यक्रमको प्रायोजन गर्ने जनाएको छ ।