विराटचोकः जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली कमजोर बन्दै गएको छ । कमजोर अवस्थामा रहेको सो वायुको र स्थानीय वायुको आंशिक प्रभावले आज देशका विभिन्न भागमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार देशका पहाडी र हिमाली भागमा आंशिक बदली रहेको छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो हिमाली भेगमा साधारणतया बदली, पहाडी क्षेत्रमा आंशिक बदली तथा तराईका इलाकामा मुख्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ ।
कोशी प्रदेशका पहाडी र हिमाली तथा बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ ।
आज राति हिमाली भेगमा आंशिक बदली रहने र पहाडी तथा तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ । कोशी र गण्डकी प्रदेशका हिमाली भागका एक–दुई स्थानमा भने मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।



