विराटचोकः हिजोदेखि मोरङको सुन्दरहरैँचा नगरपालिकामा शुरु भएको पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको उद्घाटन खेलमा मिल्स भेट्रान विराटनगर विजयी भएको छ ।
खेलको पहिलो हाफमा भरौल भेट्रान सुनसरीसँग १–१ गोलको बराबरी खेल खेलेको मिल्स भेट्रान्सले दोस्रो हाफमा थप ३ गोल गरेको हो । मिल्स भेट्रान विराटनगरले भरौल भेट्रान सुनसरीलाई ४–१ गोल अन्तरले पराजित गरेसँगै मिल्स भेट्रानका तेजमान लिम्बूले उत्कृष्ट प्रदर्शन गर्दै ह्याट्रिक गरेका थिए ।
सुन्दरहरैंचा–१० स्थित सुकुना खेलमैदानमा सम्पन्न प्रतियोगिताको उद्घाटन कोशी प्रदेशसभा सदस्य ज्ञानेन्द्र सुवेदीले गर्नुभएको थियो । कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईं, वडा अध्यक्ष रोशनप्रसाद ढकाल, प्रकाश श्रेष्ठ, पूर्व राष्ट्रिय खेलाडी देवनारायण चौधरीलगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगिताको मुख्य प्रायोजक पीएलओ लुब्रिकेन्ट्स रहेको छ । सुन्दरहरैँचा नगरपालिकाले प्रवद्र्धन गरेको छ । क्लबका अध्यक्ष राजन योन्जनले खेलमैदान व्यवस्थापन, खेलाडीलाई हौसला प्रदान गर्ने तथा समग्र खेलकुद क्षेत्रलाई चलायमान बनाउन प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो ।
प्रतियोगिता अन्तर्गत आज दार्जिलिङ भेट्रान र काँकडभिट्टा भेट्रानबीच दिउँसो ३ बजे सुकुना खेलमैदानमा प्रतियोगिता हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा ८ वटा टिमले प्रतिस्पर्धा गर्ने भएका छन् ।
खेलमा ह्याट्रिक गोल गर्ने मिल्स भेट्रान्सका तेजमान लिम्बू खेलको ‘म्यान अफ दि म्याच’ घोषित हुँदै नगद २ हजार १०० रुपैयाँ प्राप्त गर्नुभयो ।



