इटहरीः शनिबार साँझ इटहरीस्थित सोल्टी वेस्टेन्ड होटलमा आयोजित कार्यक्रममा समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूलाई नयन मिडिया प्रालिले ‘कोशी एक्सिलेन्स अवार्ड’ को सम्मान प्रदान गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अवार्डको सम्मान प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा डा. कृष्णप्रसाद तिम्सिनालाई कृषि क्षेत्रतर्फको सम्मान प्रदान गरिएको थियो । नेपाल कृषि अनुसन्धान परिषद्का कार्यकारी निर्देशक तिम्सिनाले कृषि अनुसन्धान, बीउ प्रणाली र जलवायु–मैत्री खेतीमा महत्वपूर्ण योगदान दिँदै नेपाली कृषिलाई आधुनिक र उत्पादनमुखी बनाउन भूमिका खेलेकाले अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ ।
विराटनगरमा होटल स्वागतम् सञ्चालन गरिरहेका राजन श्रेष्ठलाई पर्यटन तथा होटल व्यवसायतर्फको सम्मान प्रदान गरिएको थियो ।
जलविद्युत क्षेत्रको सम्मान डा. कृष्ण दुलाललाई प्रदान गरिएको थियो । डा. दुलालले नेपाल विद्युत् प्राधिकरण तथा विभिन्न परियोजनामार्फत् ऊर्जा क्षेत्रमा महत्वपूर्ण योगदान दिनुका साथै बुढीगण्डकी परियोजना लगायतमा सक्रिय भूमिका खेलेकाले सम्मान गरिएको आयोजकले जनाएको छ ।
तीन दशकभन्दा बढी समयदेखि सक्रिय पत्रकार राजकुमार कार्कीलाई पत्रकारिततर्फको सम्मान प्रदान गरिएको थियो । धरानबाट प्रकाशन हुने ‘ब्लाष्ट टाइम्स’ का संस्थापक प्रधानसम्पादक कार्कीले सामाजिक न्यायका पक्षमा निरन्तर कलम चलाएको योगदानको कदर गर्दै सम्मान गरिएको जनाइएको छ ।
नेपाल राष्ट्र बैंकका पूर्व निर्देशक तथा लक्ष्मी सनराइज बैंकका अध्यक्ष रमण नेपाललाई बैंकिङ क्षेत्रको सम्मान प्रदान गरिएको थियो ।
स्वास्थ्य क्षेत्रको सम्मान महिला स्वास्थ्य क्षेत्रमा सक्रिय डा. शारदा खड्कालाई प्रदान गरिएको थियो । स्तन क्यान्सरको पहिचान र उपचारमा डा. खड्काले उल्लेखनीय योगदान गरेको जनाइएको छ ।
नागरिक लगानी कोषका अध्यक्ष तुलसीप्रसाद घिमिरेले नेपाल राष्ट्र बैंकमा लामो समय सेवा दिँदै आर्थिक नीति, अनुसन्धान र व्यवस्थापनमा योगदान दिएको भनी सम्मान गरिएको थियो ।
नागरिक उड्डयनको क्षेत्रमा अनुभवी एयर ट्राफिक कन्ट्रोलर तथा व्यवस्थापकका रूपमा परिचित टेकनाथ सिटौलालाई नागरिक उड्डयनतर्फको सम्मान प्रदान गरिएको थियो ।
संस्थागततर्फ जनता बहुमुखी क्याम्पस सम्मानित
जनता बहुमुखी क्याम्पस इटहरीले सामुदायिक क्याम्पसको तर्फबाट गुणस्तरीय शिक्षा प्रदानमा उल्लेखनीय योगदान पुर्याएको भनी सम्मान गरिएको थियो ।





