कटारीः हिजो साँझ आएको हुरीले लडाएको रुखले थिचिएर उदयपुरको कटारीमा २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । कटारी–५ मा भएको घटनामा १ जनाको ज्यान जाँदा ५ जना घाइते भएका हुन् । कटारी–८ मा १ जनाको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय कटारीका अनुसार कटारी–५ स्थित राधाकृष्ण मन्दिर नजिक टिनको छाना र काठले बनेको खाजा घरमा वर्षासँगै आएको हुरीले लडाएको सुकेको सालको रुखले थिचिएर कटारी नगरपालिका–८ थलीयाटारकी मीनामाया तामाङ र कटारी नगरपालिका–५ निवासी ६४ वर्षीय वीरेन्द्र चौधरीको ज्यान गएको हो ।
सो घटनामा रुखले किचेर ५ जना घाइते भएका छन् । घाइते हुनेहरूमा ४ वर्षीया बिनिशा चौधरी, कटारी नगरपालिका–५ आहालेडाँडा बस्ने २७ वर्षीय युवराज कार्की, कटारी नगरपालिका–५ बलाहा बस्ने ४६ वर्षीय लीलाबहादुर दनुवार, सोही स्थानका ४६ वर्षीय प्रेमचन्द्र दनुवार तथा कटारी नगरपालिका–१२ बसेरी बस्ने १६ वर्षीया अस्मिता परियार रहेका छन् ।
घाइतेहरूको प्रादेशिक अस्पताल कटारीमा उपचार भइरहेको छ ।
टाउकोमा गम्भीर चोट लागेका कटारी नगरपालिका–५ बलाहा बस्ने ४६ वर्षीय लीलाबहादुर दनुवारलाई थप उपचारका लागि विराटनगर पठाइएको बताइएको छ ।
त्यस्तै, कटारी नगरपालिका–८ की मीनामाया तामाङ घरमा खसी–बाख्रा सार्ने क्रममा हावाले भाँचेको रुखको हाँगाले लागेर गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल कटारी ल्याइए पनि चिकित्सकले राति मृत घोषणा गरेका थिए ।





